धरान : भक्तपुरमा कोरोना सङ्क्रमित एक जना पुरुष पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका जवान भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बलको निलबाराही गणमा कार्यरत उनमा कोरोना सङ्क्रमण देखिएपछि उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना सङ्क्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

यसै गरी अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अघि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर पुगेकी थिइन् । दुवै सङ्क्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।