धरान : सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर पुगेकी कोरोना सङ्क्रमित युवती स्टाफ नर्स भएको खुलेको छ ।

सुनसरीबाट भक्तपुर पुगेकी २५ वर्षीय युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो । सुनसरीको रामधुनी नगरपालिका घर भएकी उनको परिवार फेला पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

उनका अनुसार अहिले सम्म उनका घर परिवार ४ जना, उनलाई मोटरसाइकलमा पुर्‍याउने भुपु प्रहरीका ११ जना परिवार, दिदी, भिनाजु, भान्जा, दिदीको देवर गरी जम्मा क्लोज कन्ट्याक्टका ११ जना र सम्पर्कमा आएका अरू ९ जना गरी २० जनाको जिल्ला अस्पताल सुनसरीमा थ्राट स्वाब लिने तयारी भएको छ ।

सङ्क्रमित युवतीको सम्पर्कमा रहेकाहरुलाई थ्रोट स्वाबको रिपोर्ट नआउन्जेल घर बाहिर ननिस्किन पनि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित युवती गत वैशाख २५ गते उनी मोटरसाइकलबाट भक्तपुर पुगेकी हुन् । उनलाई हिजो राति टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।