धरान : नेपालमा पछिल्लो समय फ्रन्ट लाइनमा खट्नेहरूमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेको छ ।

पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी देखि लिएर कपिलवस्तुमा चार सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । बुधवार बेलुकी ८ जना सङ्क्रमितमध्ये ४ जना सुरक्षाकर्मी रहेको बताइएको छ ।

सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीका सई, इलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत नेपाल प्रहरीका सई, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत असई र नेपाल प्रहरीका हवल्दार कोरोना सङ्क्रमित भएको बताइएको छ ।

यसै गरी कपिलवस्तुमा एक जना नर्स पनि सङ्क्रमित भएको खुलेसँगै अर्को सुनसरीबाट भक्तपुर पुगेकी एक नर्समा पनि कोरोना सङ्क्रमण भएको पाइएको छ । यस्तै पर्साको वीरगन्जमा २ जना र जनकपुरमा १ जना संचारकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो अवस्थालाई हेर्ने हो भने नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या यो समाचार तयार पारुन्जेल २४५ पुग्दा फ्रन्ट लाइनमा खटेका दुई स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी र ३ जना संचारकर्मीलाई कोरोना सङ्क्रमण भएको छ ।

यसले गर्दा कोरोना कसलाई लाग्छ ? काहाबाट सर्छ होइन पहिलो कुरा आफै सावधान अपनाउनुपर्ने स्वास्थ्यविज्ञहरुको भनाई छ ।