धरान : रामधुनी नगरपालिका ४ की कोरोना सङ्क्रमित युवतीसँग सम्पर्कमा आएका १९ जनाको रिपोर्ट आज आउदैछ ।

सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ लालपुर बस्ने युवती भक्तपुर पुगेपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको परिवार र उनीसँग सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाब परीक्षणको रिपोर्ट आज आउने सुनसरी जिल्ला अस्पतालका निमित्त प्रमुख सन्तोष राईले जानकारी दिएका छन् । आज त्यही युवतीसँग सम्पर्कमा रहेका थप ३ जनाको पति थ्रोट स्वाब लिइने तयारी भएको निमित्त प्रमुख राईले जानकारी दिएका छन् ।

रामधुनीबाट भक्तपुर पुग्ने बित्तिकै कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोले सुनसरीमा रहँदै उनी सङ्क्रमित भएको हुनसक्ने बताइएको छ । त्यसैले उनीसँग सम्पर्कमा आएकाहरूको सुनसरी जिल्ला अस्पतालमा थ्रोट स्वाबको स्याम्पल लिइएको थियो । सो स्याम्पल कोसी अस्पताल विराटनगर पठाइएको छ ।

कोरोना सङ्क्रमित युवतीसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई स्वाब परीक्षणको नतिजा नआउन्जेल घरमै बस्न भनिएको पनि प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिएका छन् । आज साँझ सम्ममा सबैको रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरी जिल्लाभरि अहिले सम्म ३५० जनाको पिसिआर परीक्षण गरिएको छ भने ११ सय १६ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले सम्म सुनसरीमा १०८ जना क्वारेनटाइनमा बसेका छन् । अहिले सम्म सुनसरी जिल्लामा रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी युवतीमा बाहेक कोरोना सङ्क्रमित फेला परेका छैनन् ।

आज जिल्ला अस्पताल सुनसरीले थप ४० जनाको थ्रोट स्वाब लिँदै छ । विभिन्न क्वारेनटाइन र कारागारमा बस्नेहरूको स्वाब लिन लागिएको जिल्ला अस्पतालले जनाएको छ ।