प्रकाशपुर : सुनसरीको सिमाक्षेत्रका गाँउहरुमा अहिले मकैमा घोगा लाग्न थालिसकेका छन् । घोगा लाग्ने समय भएका मकै खेतीमा मान्छे छिरेपछि देख्न सकिँदैन । लकडाउनको अहिले समयमा भारतबाट आउने सजिलो बाटो त्यही सिमाक्षेत्रमा लगाइएका मकै खेती भएका छन् ।

सिमाक्षेत्रमा नेपाल भारतका किसानले लगाएको मकै खेतीको बाटो हुँदै भारतबाट मान्छेहरू आउन थालेपछि कोरोना भाइरस सक्रमण फैलिने उच्च जोखिमको सुनसरीमा बढ्दै गएको छ । केही दिन अगाडी इनरुवा नगरपालिकाकै एक वडाध्यक्ष सीमाको मकै बारीको सहारामा नेपाल छिरेका थिए ।

मकैवारि हुँदै इनरुवा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष श्यामदेव मेहता इनरुवा आइपुगेका हुन् । लकडाउन लम्बिँदै जाँदा भारत पुर्णियामा रहेको ससुरालीमा बस्दै आएका थिए ।

हाल इनरुवा नगरपालिकाले बनाएको क्वारेनटाइनमा बस्दै आएका मेहेता पुर्णियाबाट भाण्टावारीसम्म एम्बुलेन्समा आएर रातीको समय मकै खेतीकै सहारामा नेपाल छिरेका थिए । मेहेता मात्र हैन नेपाल भारत गरिरहने अधिकांश सीमाका सुरक्षाकर्मीहरु छलेर नेपाल छिर्ने गरेका छन् ।

नेपाल र भारतमै लकडाउन भए पनि भारतमा रेल सेवा सुरु भएपछि नेपाल आउन चाहानेहरुको लागि थप सहज भएको छ ।

सीमावर्ती गाउँ कोसी गाउँपालिकाका स्थानीयहरूका अनुसार भारतका विभिन्न सहरबाट नेपालको सीमा सम्म रेलमा र त्यहाँबाट मकैवारि हुँदै नेपाल छिर्ने गरेका छन् ।

भारतमा रेल सेवा सुरु भएपछि सुनसरीको सिमाक्षेत्रमा किसानले लगाएको मकै खेती अहिले नेपाल छिर्ने प्रवेशद्वार बन्दै गएको हो । दैनिक मकैवारिमा लुक्दै छिप्दै नेपाल आउनेहरूले मकै वाली समेत नष्ट गरेको गुनासो स्थानीयहरूको गुनासो छ ।