धरान : धरान छाताचौक स्थित पशु औषधी पसलले कुखुराको अण्डा बेच्न राखेको पाइएको छ ।

धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य बस्तु बेचविखन गर्ने पसलमा मानिसले खाने कुखुराको अण्डा भेटिएपछि एक पटकलाई सचेत गराएर छाडिएको छ ।

टीकाराम चौधरीले सञ्चालनमा ल्याएको एनिमल मेडिसिन सेन्टरमा अण्डा बिक्री गरेको पाइएपछि सचेत गराएर छाडेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।

अखाद्य वस्तुको पसलमा खाद्य वस्तु बिक्री गर्नु आफैमा पनि कानुन विपरीत रहेकाले सचेत गराएर छाडिएको सापकोटाले बताए । पशु औषधी पसलमा त्यसैसँग सम्बन्धित औषधी मात्रै बेच्न पाइन्छ तर त्यहाँ अण्डा बेच्दै गरेको अवस्थामा फेला परेकोले पशु औषधी पसलका सञ्चालकलाई पहिलो चोटि भएकोले सचेत गराएको हो । यदि पुनः भेटिएमा ऐन बमोजिम कारबाही हुने पनि सापकोटाले जानकारी दिएका छन् ।