धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा सुचारु गर्नका लागि अहिले सम्म दुई चरणको बैठक तथा छलफल भएका छन् ।

लकडाउनको बेलामा कसरी अस्पतालमा उपचारका लागि आउनेहरूलाई व्यवस्थापन गर्ने र ओपिडी सञ्चालनका लागि गाइडलाइन बनाउने सम्बन्धमा छलफल भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

प्रतिष्ठानको ओपिडी सेवा बन्द हुँदा दैनिक लाखौँ रुपैयाँ प्रतिष्ठानले आम्दानी गुमाइरहेकोले लकडाउनको बेलामा पनि सामाजिक दुरी कायम गरेर सर्वसाधारणलाई अस्पतालको सेवा दिने सम्बन्धमा छलफल भए पनि ओपिडी सेवा सुचारु गर्ने बारेमा समय तोकी नसकिएको बताइएको छ ।

अस्पतालमा ओपिडी सेवा सुचारु हुँदा बिरामीको प्रतिष्ठानमा चाप बढ्ने र यसबाट झन् जोखिम हुन सक्ने बताइरहँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने ओपिडी सेवा सुचारु गर्न पहल थालेको बताइएको छ ।