झापा : झापा जिल्लाले भारतमा अलपत्र नेपालीहरूलाई नेपाल आउन दिने भएको छ । शनिवार बसेको जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पूर्ण बैठकले भारतमा अलपत्र नेपालीलाई जेठ ५ गतेबाट आउन दिने व्यवस्था गरेको हो ।

भारतबाट आएकाहरूलाई स्वास्थ्य परीक्षण पछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तव्यसम्म जान दिनेगरि नेपाल छिर्न दिने भएको हो । अन्य जिल्लाको हकमा कोरोना नभएको सुनिश्चित भए जिल्लाका सदरमुकामसम्म पुर्‍याउने व्यवस्था गर्ने निर्णय भएको समितिका संयोजक सोमनाथ पार्तेलले बताए ।

भारतमा अलपत्र नेपाली झापा प्रवेश गर्दा उनीहरूलाई क्वारेनटाइनमा राखिने पोर्तेलको भनाई छ ।

क्वारेनटाइन र होर्डिङ क्षेत्रमा राखिने र उनीहरूको खानपानको व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्ने बताइएको छ । समितिले नेपाल आउने आफ्ना नागरिकको निम्ति खानपानको थप व्यवस्था गर्न निजी क्षेत्रलाई सहयोगको आव्हान गर्ने निर्णय भएको छ ।

साथै बैठकले जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने निर्णय गरेको छ । योसँगै कृषि र औषधि भने नियमित सञ्चालन गर्न पाइने निर्णय गरेको हो ।

झापामा सञ्चालित दुई अभियान एकका लागि एक र मेची अभियानलाई अब राहत वितरणमा नभई भारतबाट आउने नेपालीको व्यवस्थापनमा लाग्न अनुरोध समेत गरिएको छ । झापाका १५ वटै स्थानीय तहमा रहेका बैङ्क तथा वित्तीय संस्था आधाआधी गरी दिन बिराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय भएको छ ।

खाद्यान्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानीमा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ । सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको छ ।

समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका संयोजक पोर्तेलको अध्यक्षता, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर रहेका थिए ।

नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रदेश सांसद, समितिका सदस्यहरू सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुखहरू र रेडक्रसका सभापति सहित सबै सदस्यहरूको उपस्थितिमा बैठकले सो निर्णय गरेको हो ।