इटहरी : सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड १९ )बाट नै मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमा छोरा दुवैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएका कारण धुलिखेल अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । धुलिखेल अस्पताल पछि पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण नेपालमा  पहिलो घटना भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको कारण मृत्यु भएको घोषणा गर्नु भन्दा पहिलेनै मृतकको घर र माइती गाउँलाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।

यसै गरी मृतकलाई यस अघि उपचार गरिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ ।
उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताइएको छ ।