धरान : पूर्वी पहाडी जिल्ला धनकुटामा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

जिल्ला अस्पताल धनकुटाबाट ४ जना स्वास्थ्यकर्मी, १ जना प्रहरीको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको मध्ये १ जना ३४ बर्षिय महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

धनकुटामा कोरोना पहिलो पटक देखिएपछि अहिले जिल्ला बिपद व्यवस्थापन समितिको आकस्मिक बैठक बस्ने तयारी भइरहेको बताइएको छ । अहिलेसम्म पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।

यसै गरी मोरङका दुई जना सङ्क्रमित विराटनगर उपमहानगरपालिका वडा नं. १५ र ६ निवासी रहेको बताइएको छ । मोरङमा पनि यो पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो । यस भन्दा पहिले मोरङकै ४ जना उदयपुरमा भुल्केबाट सङ्क्रमित भएका थिए । मोरङमै बसेकाहरूमा भने कोरोना देखिएको थिएन ।

आज सङ्क्रमित भएकाहरूसँग प्रदेश नं. १ मा ३९ सङ्क्रमित पुगेका छन् भने १७ जना निको भएका छन् ।
आज साँझ थपिएका सङ्क्रमित सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ सय ९५ पुगेको छ ।