झापा : झापास्थित नेपाल भारत सिमाना बसेका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने भारतीय नागरिकहरूलाई भारतीय प्रहरीले कारबाही गर्ने जनाएको छ ।

शनिवार साँझ झापाको कचनकवल गाउँपालिका १ घेराबारीस्थित झण्डु गाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए ।

यही विषयलाई लिएर आज बिहान दुई देशका प्रतिनिधि बिच बसेको बैठकमा आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाएको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए ।

किन भयो नेपाली सुरक्षाकर्मी आक्रमण ?

अध्यक्ष आलमका अनुसार कचनकवलस्थित नेपाली भूमिमै भारतीयले अरूकै जग्गामा खेती गर्ने गरेका थिए । त्यही खेती उठाउने समय भएकाले उनीहरूले बारम्बार आफूहरूलाई नेपाल प्रवेश गर्न आग्रह गरिरहेका थिए ।

तर विषम परिस्थिति र सीमासमेत सिल भएको अवस्थामा आउन नदिइने नेपाल पक्षबाट बताइएपछि उनीहरू रुष्ट भएका थिए । गाउँपालिका अध्यक्ष आलमका अनुसार ती किसानलाई नेपाल तर्फ आफन्त भए उनीहरुलाई नै बाली उठाएर रकम पछि लिन मौखिक सहमति गरिएको थियो ।

border-force-jhapa-2-

यद्यपि, यस विषयलाई लिएर भारतीयहरू रुष्ट भएका थिए । शनिवार बेलुका साढे ७ बजेको समयमा कचनकवल गाउँपालिका १ घेरावारीस्थित १२५/१० नम्बर पिलरको सुरिभिट्टा-झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले आक्रमणको प्रयास गरेका हुन्।

शनिवार साँझ भारतीय सिमाना रहेका एसएसबीका जवानहरू खाना खान गएको मौका छोपी नेपाल प्रवेश गरेर नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । झडपकै अवस्था सिर्जना भएपछि हवाई फायर समेत गरिएको थियो ।