झापा : भारतीय सिमामा अलपत्र नेपालीहरूलाई भोलि देखी (सोमबार) पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गराइने भएको छ ।

झापामा शनिवार सम्पन्न जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पूर्ण बैठकको निर्णय अनुसार नेपाल प्रवेश गराउने तयारी अन्तिम चरणमा पुगेको समितिका संयोजक सोमनाथ पोर्तेलले बताए ।

हिमशिखर टेलिभिजनको एक लाइभ कार्यक्रममा बोल्दै पोर्तेलले प्रवेश गर्ने सबैको आवश्यक स्वास्थ्य परीक्षणको लागि किट लगायत होल्डीङ एरियाको समेत तयारी सकिएको बताएका छन् ।

यस्तै अब झापामा लक डाउनलाई कडा रूपमा अघि बढाइने भएको छ । झापामा हिजो सम्पन्न जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पूर्ण बैठकले जोर बिजोर प्रणाली लागु गरेको थियो । सोही अनुसार मात्रै पसल खोल्न मिल्ने निर्णय गरेको छ ।

बैठकले जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने निर्णय गरेको थियो । यो सँगै कृषि र औषधि भने नियमित सञ्चालन गर्न पाइने छ ।

त्यसैगरि सिमामा बसेका सुरक्षाकर्मीहरुनै असुरक्षित भएको देखिएकाले त्यसबारे थप छलफल गरी केही निर्णय गरिने उनले बताए । पहिलो पटक सिमामा यसरी सुरक्षाकर्मी राखिएकाले व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा अब यस्तो परिस्थिति आउन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।