धरान : धनकुटाकी कोरोना सङ्क्रमित बिरामीलाई अहिले कोरोना अस्पताल विराटनगर ल्याईदैछ ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा हिजो कोरोना पुष्टि भएसँगै सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको थियो । अहिले उनलाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमान्ड फोर्स धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार जिल्ला अस्पतालकी कर्मचारीमा कोरोना पुष्टि भएपछि हिजो देखि जिल्ला अस्पताल धनकुटा आसपासको क्षेत्रलाई सिल गरिएको र धनकुटा अस्पताल बन्द गरिएको छ । अस्पतालमा भर्ना भएका सबै बिरामी र अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारीलाई धनकुटाको औद्योगिक ग्राममा तयार गरिएको क्वारेनटाइनमा राखिने भएको छ ।

धनकुटामा पहिलो पटक कोरोना सङ्क्रमण देखिएपछि सिल गरिएका क्षेत्रहरूका आशङ्का गरिएका सबैको र्‍र्यापिड टेस्ट र अस्पतालका सबैलाई पिसिआर टेस्ट गरिने हिजो बसेको कोभिड १९ कमान्ड फोर्सले निर्णय गरेको छ । तर र्यापिट टेस्टका लागि आरडिटी किट जिल्लामा नभएको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले जानकारी दिएका छन् ।

अस्पतालका स्वास्थ्यकर्मी तथा केही कर्मचारीको तुरुन्त थ्रोट स्वाब परीक्षण गर्नुपर्ने भए पनि भिटिएम जिल्लामा नभएको कारण समस्या भएको श्रेष्ठले बताए ।