झापा : भारतको मुम्बइबाट फर्किएका ३३ नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि पाँचदेखि १० जनासम्मको समूह बनाइ उनीहरू केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए ।

केचनकवल–२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा रहेका उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए । रोजगारीका सिलसिलमा उनीहरू मुम्बइ पुगेको अध्यक्ष आलमको भनाइ छ ।

“ट्रेनबाट ल्याएर नेपालीलाई भारतीय एसएसबीले सीमाबाट सजिलै छाडिदिँदो रेहछ”, उनले भने, “सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनीहरूलाई तत्काल कब्जामा लिएर क्वारेन्टाइनमा राखेका छौँ । आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व हाम्रै हो ।”

क्वारेन्टाइनमा राखिएका सबैको स्बाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

अध्यक्ष आलामले भारतको दिल्ली, मुम्बइ, केरेलालगायत स्थानमा १० हजार बढी युवाहरू कचनकवल गाउँपालिकाबाट मात्र रोजगारीका लागि गएको जानकारी दिए ।

उनले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नेपालीलाई परिवारसँग घुलमिल नभइ पालिकाले तयार गरेको क्वारेन्टाइनमा आएर बसिदिनसमेत आग्रह गरेका छन् । पालिकाले १५० जना अटाउने सक्ने क्षमताको दुई स्थानमा क्वारेन्टाइन तयार गरेको छ ।