धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा लकडाउन देखिनै बन्द रहेकोमा भोलि मङ्गलवार देखि सुचारु हुने निर्णय भएको छ ।

लकडाउन सँगै बन्द रहेको प्रतिष्ठानको ओपिडी सेवा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको निर्देशनमा सुचारु भएको सर्वसाधरणमा सूचना जारी गरिएको छ । भोलि मङ्गलवार देखि सामाजिक दुरी कायम राख्दै उपचार सेवा दिन हाललाई विभागहरूको अनुरोध अनुसार प्रत्येक विभागको लागि बिरामी सङ्ख्या सीमित राखी प्रतिष्ठानको मेन गेट बाट विरामीलाई टोकन वितरण गर्ने बताइएको छ । सोही टोकनको आधारमा बिरामी दर्ता तथा ओपिडी कार्ड उपलब्ध गराइनेछ ।

प्रत्येक बिरामी र भिजिटरले प्रतिष्ठान प्रवेश गर्दा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शङ्कर शाहद्वारा हस्ताक्षरित सूचनामा सो कुराको जानकारी दिइएको छ ।

धरानका मेयर भन्छन् -''यसबारेमा मलाई जानकारी छैन"

प्रतिष्ठानको ओपिडी सेवा सुचारु गर्ने सम्बन्धमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफूलाई केही जानकारी नभएको बताएका छन् । धरान उपमहानगरपालिका भित्र रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सुचारु गर्नु राम्रो कुरो हो तर सेवाग्राहीहरुको चाप र स्वास्थ्य सुरक्षाको बारेमा प्रतिष्ठान आफै जिम्मेवारी हुनुपर्ने मेयर राईले बताए ।

उनले भने, -"प्रतिष्ठानको एउटा विभाग सिल गरिएको अवस्थामा ओपिडी सेवा सुचारु गर्न कत्तिको सहज होला ? त्यो त प्रतिष्ठान आफैले व्यवस्थापन गर्ला ।"

जोखिमको बेला ओपिडी सञ्चालनमा चिकित्सक पनि असन्तुष्ट

कोरोना सङ्क्रमणको जोखिम बढीरहेको बेलामा प्रतिष्ठानले ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु ठिक नभएको प्रतिष्ठान भित्रका चिकित्सकहरू बताउँछन् ।

'लकडाउनको बेलामा हटलाइन सेवा वाट बिरामीलाई सेवा दिएकै हो । अव विरामीनै अस्पताल आउन थाले पछि धरानका मात्रै होइन विभिन्न ठाउँबाट बिरामी आउन थाल्छन् । अस्पताल आएका बिरामीलाई सेवा नदिई कसरी फर्काउनु ?  यसमा प्रतिष्ठानलाई ठुलो चुनौती  छ ' एक चिकित्सकले भने ।