इटहरी : झापामा ९ र सुनसरीमा २ जना सहित प्रदेश एकमा मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

झापाको केचनकवल गाउँपालिकाका ९ जना र सुनसरी इटहरी र एक जना सुरक्षाकर्मी सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।

झापा कचनकवल गाउपालिकाका एकै टोलका ३३ जनाको स्वाब कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै सुनसरीका दुई जनाको भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना पुष्टी भएको हो ।

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।

यो सँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।