इटहरी : इलाम देउमाई गाउँपालिका ६ शान्तीडाँडामा बाबुको हत्या गरेको आरोपमा छोरी पक्राउ परेकी छिन् । देउमाई बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

सोमबार बेलुका ८ बजे खाना खाने क्रममा ५१ वर्षीय बाबु फुल बहादुर राईलाई सामान्य विवादको क्रममा बन्चरो प्रहार गरी हत्या गरेकी हुन् । खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासि घरायसी विषयमा वादविवाद हुन बन्चरोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामबाट समेत घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या पुष्टि गरेको हो । हत्यामा संलग्न शुष्मा राईलाई जङ्गलमा लुकीछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।