धरान : फ्रन्ट लाइनमा रहेर समाजका लागि काम गर्नेहरूमाथि धमाधम कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि मङ्गलवार सुनसरीका पत्रकारहरूको पिसिआर विधिबाट कोरेनाको परीक्षणका लागि थ्रोट स्वाब लिइएको छ ।

इटहरीको जनता माविमा भएको परीक्षामा पहिलो चरणमा अग्रभागमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्ने सुनसरीको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब सङ्कलन गरिएको छ । नेपालमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु कोरोनाको जोखिममा पर्न थालेपछि सुनसरीका पत्रकारहरूको स्वाब सङ्कलन गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र इटहरी अस्पतालले स्वाब संंकलन गरेको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताए । सुनसरी कार्यक्षेत्र बनाएर मोफसल तथा राष्ट्रिय स्तरसम्मका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीहरु सुरक्षित रहेर काम गर्न सकुन् भन्ने उद्देश्यले नै महासङ्घको समन्वयमा पहिलो चरणमा २० जनाको स्वाब सङ्कलन गरिएको नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले बताए ।

नेपालमा आजसम्म ५ जना सञ्चारकर्मीलाई कोरोना भएको पुष्टि भइसकेको छ । यस क्रममा सुनसरीमा समेत तीन जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि यसरी स्वाब सङ्कलन गरिएको हो ।
पहिलो चरणमा २० जनालाई गरिएको भए पनि यसलाई निरन्तरता दिने महासङ्घले जनाएको छ । महासङ्घले अहिलेको विषम परिस्थितिमा जिल्लामा रहेका सञ्चारकर्मीलाई जोखिम न्यूनीकरण गर्दै समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेको छ ।