झापा : लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाँउमा अप्ठेरोमा परेका नेपालीका लागि सिमासंग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ । झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो ।

दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालयको पुर्वाधार युक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

शिवसताक्षी नगरकार्यपालिकाको सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायीक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगर स्तरीय सर्वदलीय समन्वय समितिले पालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो ।

नगर प्रमुख शेर्मा अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।

भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भारतबाट आएका नेपालीलाई फिल्टर गरेर होल्डिङ एरियामा राखिने बताए । उनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, विर्तामोड, शिवसताक्षी लगायतका पालिकामा होल्डिङ एरिया स्थापना भएका छन् ।

‘बढीमा ३ दिन सम्म भारतबाट आएकालाई होल्डिङ एरियामा राखिने छ । त्यसपछि यातायात लगायतका अन्य आवश्यक व्यवस्था गरेर उनिहरुको गृह पालिका सम्म पुर्याउने गरिन्छ ।’ उनले भने ।

काकडभिट्टा नाका हँुदै झापाका होल्डिङ एरियामा १ हजार ५० जनालाई राखिने भएको छ । उनिहरु मंगलबार साँझ सम्ममा नेपाल आईपुग्ने प्रहरी उपरीक्षक कोईरालाले बताए ।