प्रकाशपुर : मङ्गलवार सुनसरीमा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भयो । पुष्टि भएका मध्ये एक जना इटहरीका १८ वर्षीय युवक र एक जना सुरक्षाकर्मी रहेका छन् ।

बराहक्षेत्र र कोसी गाउँपालिका सिमानामा रहेको आपगाछी भन्ने ठाउँमा सशस्त्र प्रहरी बलको युनिटका हवल्दार थिए । सो युनिटले नेपाल-भारत कोसी सम्झौता अनुसार स्थापना भएको भारतीय पक्षको फिल्ड अफिसको सुरक्षार्थ खटिएको हुन्छ ।

कोसी बाधको छेउमै रहेको भारतीय फिल्ड अफिसलाई 'हवाई महल' पनि भन्ने गरिन्छ । हवाई महलमा भारतीय पक्षको सुरक्षार्थको लागि १४ सदस्यीय सशस्त्र टोली रहेको छ ।

सो टोलीले भारतीय पक्षका कर्मचारीहरूलाई कोसी प्रोजेक्टको बाध बनाउने लगायत अन्य काम तथा भारतीय फिल अफिसको सुरक्षा दिने काम गर्दछ ।

सोही टोलीमा बिरामी रहेका एक सहकर्मीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएर गएका थिए । सहकर्मी बिरामी भएर अस्पताल पुगेका हवलदारको रिपोर्ट चाहिँ पोजेटिभ आयो भने, बिरामी सहकर्मीलाई भने कोरोना देखिएन ।

सशस्त्रका अनुसार जसलाई सङ्क्रमणको आशङ्का गरिएको थियो, उसको चैँ रिपोर्ट नेगेटिभ आयो, अर्थात् उनी सङ्क्रमित छैनन् । सशस्त्र प्रहरी बल ४ नम्बर हेडक्वार्टर गढका इन्चार्ज एसपी कृष्ण ढकालका अनुसार उक्त पोस्टमा १६ जना कार्यरत छन् ।

सङ्क्रमित हवलदारको बेलाबेला आसपासको क्षेत्र गस्तीमा हिँड्ने गरेको स्थानीयहरू बताउँछन् । प्रकाशपुरमा रहेको ससुरालीमा समेत आउजाउ गर्ने क्रममा कोश टप्पुमा कार्यरत कर्मचारीहरूले कोसी आसपासको क्षेत्रमा देखेका समेत थिए ।

कोसी प्रोजेक्टमा आउने भारतीयले त सारेनन् कोरोना ?

नेपाल भारत कोसी-सम्झौता अनुसार सप्तकोसी नदीको सम्पूर्ण काम भारतीय पक्षले गर्दै आएको छ । वर्षाको समय सुरु हुन लाग्दा सप्तकोसी नदीको तटबन्ध निर्माण देखि मर्मतको काम समेत भारत सरकार अन्तर्गतको बिहार राज्यको हो ।

कोसी प्रोजेक्टमा आहिले फ़्लड फ़ाइटिङ्ग अर्थात् बाढी सँग लड्ने समय सुरु भएको छ । त्यसकालागी भारतीय नागरिकहरूको चहल पहल पनि बढ्न थालेको छ । भारतीय नम्बर प्लेटको गाडी समेत यो क्षेत्रमा केही अगाडी सम्म सामान्य नै थियो ।

त्यसैले सङ्क्रमित सुरक्षाकर्मी भारतीय कार्यालयकै सुरक्षामा हुने भएकाले सङ्क्रमणको स्रोत भारतीय नागरिक हुन् सक्ने कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीहरू बताउँछन् ।

'कोसीको क्षेत्र भित्रैबाट धेरै भारतीय गाडीहरू हिँडेको हुन्छ' आरक्षका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ' बकैदा पास लिएर आएको हुन्छ, जान नदिने भन्ने कुरै आउँदैन,अब त डर मर्दो भयो ।'