धरान : धनकुटामा मङ्गलवार कोरोना सङ्क्रमित भेटिएका ५ जना मध्ये ३ जना स्वास्थ्यकर्मी र १ जना स्वास्थ्यकर्मीको आफन्त सहित १ जना प्रहरी रहेको पुष्टि भएको छ । यो सँगै धनकुटा जिल्ला अस्पतालमा मात्रै ६ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ ।

जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. पूजन विश्वकर्माका अनुसार अहिले अस्पतालका सबै कर्मचारी अस्पताल परिसर भित्रै क्वारेनटाइनमा र कोरोना सङ्क्रमित आइसोलेसनमा रहेका छन् । आफू पनि क्वारेनटाइनमै रहेको बताउँदै प्रमुख डा. पूजन विश्वकर्माले भने -"लकडाउन अघि देखि हामी अस्पतालमै कार्यरत थियौँ कसरी यस्तो भयो ट्रसिङको क्रममा छौ ।''

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो सङ्क्रमित पुष्टि भएकाहरू २८,३७,३९,३५ वर्षीय पुरुष र एक जना २४ वर्षीय महिला रहेकोमा ती मध्ये एक जना स्वास्थ्यकर्मीको आफन्त र अर्काे अस्पतालको सुरक्षामा खटिएका प्रहरी रहेको जनाईएको छ ।

उनीहरूलाई उपचारको लागि प्रदेश १ को विराटनगर स्थित कोरोना विशेष अस्पतालमा ल्याउने कुरामा छलफल भइरहेको प्रमुख डा. विश्वकर्माले बताए । विराटनगर स्थित कोरोना अस्पताल प्याक भएकोले भरै साँझ सम्ममा प्रदेश सरकारले निर्णय गरे पछि मात्रै उनीहरूलाई विराटनगर या धरान काहा उपचारका लागि लाने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।

अहिले धनकुटामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले कोभिड १९ कमान्ड फोर्सको आकस्मिक बैठक बसेको छ । यस भन्दा अघि एक जना जिल्ला अस्पताल धनकुटामै कार्यरत नर्समा कोरोना सङ्क्रमण देखिएपछि धनकुटा अस्पताल आसपासका क्षेत्र सँगै अस्पताल पुरै सिल गरिएको छ । अहिले अस्पताल भित्र रहेका बिरामी र बिरामीका कुरुवाहरू डेढ सयको हाराहारीमा अस्पतालमै क्वारेनटाइनमा बसेको प्रमुख डा. विश्वकर्माले बताएका छन् ।

अस्पताल भित्र रहेका स्वास्थ्यकर्मी र सबै बिरामी र बिरामी कुरुवाहरूको तुरुन्त कोरोना परीक्षण हुनुपर्ने कुरा उठेपनि धनकुटामा आरडिटी परीक्षण गर्ने किट र भिटिएम नभएकोले समस्या भएको बताइएको छ ।

Dhankuta-Sil