धरान : इटहरी २ का कोरोना सङ्क्रमित युवा धरानको एम्स कलेजको विद्यार्थी भएको खुलेको छ ।

उनी धरानको एम्स कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी भएको बताइएको छ । उनको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा उनी धरान इटहरी आउजाउ गर्ने युवा भएको प्रहरीले बताएको छ ।

लकडाउनकै बेला करिब १५ दिन अघि धरान ११ बिच घोपामा एक जना एम्स कलेजमै पढ्दै गरेका विद्यार्थीले आत्महत्या गरेको बेला उनको मलामीमा धरान आएको खुलेको छ । खोटाङ घर भएका विद्यार्थी फुपूको घरमा बसेर पढ्दै गरेको र उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।

केही दिन अघि सङ्क्रमित युवालाई स्वास्थ्यमा समस्या देखिएपछि इटहरीको आपगाछी स्थित एक मेडिकलमा गएको र त्यहाँबाट धरान रेफर भएको बुझिएको छ । प्रतिष्ठानमा आउँदा शङ्का लागेपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । सो क्रममा उनको रिपोर्ट कोरोना भएको पोजेटिभ रिपोर्ट आएको थियो ।

सङ्क्रमित युवा मलामी आएको र धरानबाट चतरा जाने सर्दु खोलाको पुल नजिकै आत्महत्या गरेका युवाको दाहसंस्कार गरिएकोले मलामीमा सहभागी भएकाहरूको तथ्याङ्क सङ्कलन गर्नुको साथै मृतकका आफन्तलाई थप सोधी खोजी गरिने बताइएको छ ।