धरान : धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गत आइतबार कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पताल सञ्चालनमा आउने भएको छ ।

बुधवार बसेको धनकुटा कोभिड १९ कमान्ड फोर्सको बैठकले धनकुटा अस्पतालमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेनटाइनमा राखेर अस्पतालमा सेनिटाइज गरेर सञ्चालनमा ल्याइने निर्णय गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमान्ड फोर्सका सूचना अधिकारी जयराम श्रेष्ठले बताए । उनले धनकुटा अस्पताल सञ्चालन नभएसम्मका लागि धनकुटा ६ मा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट अस्पतालको सबै सेवा सेवा सञ्चालन गरिने बताए ।

धनकुटा अस्पतालका सबै स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखेपछि स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापन नभएसम्म आँखा अस्पतालबाट सेवा सञ्चालन गरिने भएको हो । स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखेपछि धनकुटाको डाँडाबजार र जीतपुरबाट केही स्वास्थ्यकर्मी ल्याइने र अन्य स्वास्थ्यकर्मी प्रदेश सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।

धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागु गर्ने निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए । धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुङ्गा, गिट्टी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुन दिइने भएको छ ।