धरान : धरान प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित एक महिला सँगै तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा धरान १४ बाँझगराका ४३ वर्षीय घनश्याम राई, धरान १३ का २९ वर्षीय मन्दिप मगर र धरान १३ की २५ वर्षीय समिया लिम्बु रहेका छन् ।  उनीहरूलाई शनिवार राती करिब ९ बजे धरान १३ स्थित डेराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मन्दिपको साथबाट १ सय ५० मिलिग्राम खैरो हिरोइन(ब्राउन सुगर) र एक सेट मोबाइल बरामद भएको छ भने घनश्याम र समियाको कोठाबाट ३ ग्राम गरी कुल ३ ग्राम १ सय ५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।

घनश्याम र समियाको कोठाबाट १ सय ५० ट्याब्लेट नाइट्रोजन लागु औषध पनि प्रहरीले बरामद गरेको छ । दुवैको साथबाट नगद ८३ हजार रुपैयाँ पनि बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय धरानले आज उनीहरूलाई उनीहरूको साथबाट फेला परेको सामाग्री सहित सार्वजनिक गरेको छ । उनीहरू तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागु औषध ऐनअन्तर्गत कारबाही अघि बढाउन म्याद थप गरी ल्याइएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।