धनकुटा : धनकुटामा ८४ जनाको पिसिआर टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

धनकुटामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, सङ्क्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटर भित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरी ८४ जनाको पिसिआर टेस्ट गरिएको हो । आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो ।

यसअघि धनकुटामा जेठ ४ एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि जेठ ५ गते अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।