धरान : भोजपुरमा दोब्बर मूल्यमा रासायनिक मल बेचबिखन गर्ने पसल ‘सिल’ गरिएको छ। अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो।

हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकबाट प्रतिबोरा १८ सयले खरिद गरेर राखेको बताएका छन् । प्रतिबोरा २ हजारले बेचेको उनले स्विकारेका छन् ।

प्रतिबोरा रु ७८५ मूल्य पर्ने युरिया मल रु दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सिल गरेको हो। भुजेलको स्टोरबाट ४७ बोरा मल भेटिए पनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ। तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार सिल गरेको हो।

अनधिकृत खरिद गरेर महँंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।वास्तविक मूल्यभन्दा रु एक हजार ४०० भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको पुरीको भनाइ छ।