धरान : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द भएको धनकुटा अस्पताल आज देखि पुनः सञ्चालनमा आएको छ ।

गत आइतबार स्टाफ नर्समा कोरोना भेटिएपछि आइतबार रातीदेखि नै धनकुटा अस्पताललाई चार किल्ला तोकेर सिल गरिएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले आज आइतबार देखि जिल्ला अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सोही अनुरूप अस्पताल बाहिर टेन्ट टाँगेर ओपिडी सेवा सुचारु गरिएको छ । ओपिडी सञ्चालन गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि चिकित्सक सहित सात सदस्यीय स्वास्थ्यकर्मीको टोली धनकुटा पुगेको छ । जसमा ३ जना डाक्टर र ४ जना नर्स छन् । विशेष ओपिडी क्लिनिकमा निःशुल्क रूपमा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताए ।

उनले अस्पतालभित्र भने प्रवेश निषेध गरिएको बताए । गत आइतबारसम्म भने धनकुटा अस्पतालका सबै सेवा सञ्चालनमा थिए । ओपिडी सेवा बन्द हुँदा सयौँ बिरामीले थप समस्या भोग्न बाध्य भएका थिए ।

धनकुटा अस्पतालमा लकडाउनकै समयमा पनि धनकुटा अस्पतालमा दैनिक ८० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पूजन विश्वकर्माले जनाकारी दिए । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ स्वास्थ्यकर्मीका परिवारसहित ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।