धरान : इटहरी उपमहानगरपालिका वडा नं २ का एक युवामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको दुई वटा वडालाई खुला गर्ने निर्णय भएको छ ।

आइतबार मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यसअघिको निर्णय अनुसार सिल गरिएको वडा २ र ३ खुला गर्ने निर्णय गरेको हो ।

यस्तै सोही बैठकले भोलीदेखि दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक वस्तुका पसलहरु खुला गरी दैनिक उपभोग्य वस्तुहरु पसलहरुमा सामाजिक दुरी कायम गरि बेचबिखन गर्न पाउने निर्णय पनि गरेको छ ।

लकडाउनलाई प्रभावकारी वनाउदै जनजीवनलाई सहज बनाउनको लागि आज इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा यस्तो निर्णय गरिएको हो । वैठकमा जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयको प्रतिनिधित्व रहेको थियो ।