धरान : नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ ।

राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आज एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको हो । सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन: निश्कासन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’

त्यस्तै नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ,‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्नेछ ।’

केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाहरुलाई पुरानो नोटहरु नोट कोष वा राष्ट्र बैकमा बुझाउन भनेको छ ।