धरान : विभिन्न जिल्लामा थप ६ जना कोरोनाका बिरामी थपिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या नेपालमा ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा ६ जना सङ्क्रमित थपिएको जानकारी दिएका छन् । थपिएका मध्ये सेती अस्पतालमा गरिएको परीक्षणमा अछाम मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दियाको गुलरिया १० का २२ र २४ वर्षीय पुरुष, गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसै गरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको जीराभवानी गाउँपालिका ४ का १८ वर्षीय पुरुष, काठमाडौँ महानगरपालिका १५ घर भएर कलैया बारामा रहेका २८ वर्षीय पुरुषमा गरी अहिले साढे ४ बजे सम्ममा ६ जना नयाँ कोरोना सङ्क्रमित थपिएर अहिले देशभरको कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ८१ पुगेको छ । 

प्रादेशिक विवरण अनुसार प्रदेश नं. १ को ७ वटा जिल्लामा ८६ जना, प्रदेश नं. २ को ८ जिल्लामा २ सय ३५ जना, बागमति प्रदेशबाट ११ जिल्लामा ३८ जना, गण्डकी प्रदेशको ३ जिल्लामा ५ जना, प्रदेश नं. ५ को ७ जिल्लामा २९२ जना, कर्णाली प्रदेशको २ जिल्लामा ११ जना र सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा १५ जना कोरोना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि :
कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो ।
नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शङ्कास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यस क्रममा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।