धरान : बीपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड १९ अस्पताल संचालनमा आउन थालेपछि सङ्क्रमितलाई उपचारमा ल्याउँदा वैकल्पिक बाटो प्रयोग गर्ने भनिएकोमा त्यो कार्यान्वयन हुन सकेन ।

साबिकको बाटो हुँदै कोरोना सङ्क्रमित बिरामी अस्पताल ल्याउँदा जोखिम हुन सक्ने भन्दै नगरबासीले कुरा उठाएपछि धरान उपमहानगरपालिकाले प्रतिष्ठानसँग वैकल्पिक मार्गका लागि प्रतिष्ठानको पूर्वी दक्षिण गेट प्रयोग गर्ने प्रस्ताव राखेको थियो ।

त्यो प्रस्तावमा बाटो धरान उपमहानगरपालिकाले मर्मत गरिदिनुपर्ने पनि मौखिकरुपमा कुराकानी भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका थिए । तर पछि प्रतिष्ठानको आवसिय क्षेत्रबाट सो वैकल्पिक बाटो हुने भएकोले कार्यान्वयनमा ल्याउन नसकिएको बताइएको छ ।

सङ्क्रमितलाई कोभिड -१९ अस्पतालमा किन राखिएन ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई अहिले कोभिड अस्पतालमा नराखी पेईङ ब्लगको आइसोलेसनमा राखिएको छ ।

अहिले सम्म प्रतिष्ठानमा कोरोना सङ्क्रमित झापाका २५ जना र धरानका १ जना गरी २६ जना उपचारत रहेका छन् । अहिले सम्म आइसोलेसन वार्डमा जम्मा २९ जना बिरामी रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले भर्ना भएका विरामीहरुमा कुनै लक्षण र बिरामी अवस्थामा नरहेकोले आइसोलेसनमा राखिएको हो । कुनै लक्षण देखियो र स्वास्थ्यमा समस्या देखियो भने तुरुन्त कोभिड अस्पतालमा राखेर उपचार गरिने छ । कोभिड १९ को तेस्रो चरणका विरामीलाई कोभिड १९ अस्पतालमा राखेर उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।