धरान : इलाका प्रहरी कार्यालय धरानले ठुलो मात्रमा लागुऔषध र नगद सहित धरान ९ बाट मङ्गलवार दिउसो एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटेको प्रहरी टोलीले धरान ९ बगैँचा चौक स्थित शारदा राईको घरमा कोठा भाडामा लिई डेरा गरी बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई ठुलो परिमाणमा विभिन्न प्रकारका लागु औषध सहित नगद २ लाख ३७ हजार सहित पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सुभचन्द्र राईको कोठामा प्रहरीले खानतलासी गर्दा घरको पूर्व तर्फ फर्किएको ढोकाको कुनामा लुकाई छिपाई राखेको प्लास्टिकको बोरा भित्र ठुलो परिमाणको लागूऔषध,सोही कोठामा रहेको काठको दराज भित्रको सानो हाते झोला भित्र नगद समेत फेला परेको थियो ।

त्यसै गरी राईको कोठाबाट स्पामोप्रोक्सिभोन प्लस लेखिएको हरियो रङ्गको एक पत्तामा ८ वटा क्पसुल भएको १ सय ६० पत्ता जम्मा १२ सय ८० क्याप्सुल, नाइट्रोजन ३ सय ट्याब्लेट, डाईलेक्स डिसी १ सय एमएल लेखिएको सिल प्याक गरेको जम्मा ८० बोतल, नगद २ लाख ३७ हजार सहित सिम सहितको सामुसङ मोबाइल २ थान बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

Laguaushadh-1