धरान : कोरोना सङ्क्रमणबाट मृत्यु भएको अवस्थामा शव उठाउन र अन्त्येष्टिको लागि जोखिम व्यवस्थापन टोलीलाई विशेष प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न तरुण दल धरान उपमहानगर कमिटीले माग गरेको छ ।

तरुण दल धरान उपमहानगर कमिटीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, धरान उपमहानगरपालिका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउँदै आपतकालिन अवस्थाको लागि शव व्यवस्थापन गर्न पुर्वतयारीको माग गरेको हो । यसै गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि भोलि बिहान ज्ञापन पत्र बुझाउने नेपाल तरुण दलले जनाएको छ ।

ज्ञापन पत्रमा कोरोनाबाट मृत्यु भएका मृतकको शव उठाउने मान्छे अभाव भएको र धरान तथा प्रदेश १ मा पनि यसका लागि पुर्वतयारी गर्नुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमित बिरामी बोक्न पनि एम्बुलेन्सहरू नमानिरहेको अवस्थामा, भोलि मान्छेको मृत्यु नै भएको खण्डमा कसरी व्यवस्थापन गर्ने हो ? त्यसैले आपतकालिन अवस्थाको लागि तुरुन्त जोखिम व्यवस्थापन टोलीलाई प्रशिक्षण गराएर तयारी अवस्थामा राख्न जरुरी देखिन्छ भनी ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

तरुण दलले स्वास्थ्यकर्मीहरुले क्वारेनटाइनमा रहेका वा सङ्क्रमित व्यक्तिहरूको उपचारमा खटिए जस्तरी नै जोखिम व्यवस्थापन टोली तथा एम्बुलेन्स चालकहरूलाई सुरक्षित तरिकाले प्रशिक्षण गराउन र सुरक्षाको आवश्यक सामग्रीहरू उपलब्ध गराउन पनि तरुण दलले माग गरेको छ ।

tarun-dal-Dharan-dead-body-news