धरान :  सप्तरी जिल्लामा थप ११ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षण गरिएका थप कोरोना सङ्क्रमितहरू सप्तरीको बोदेवर्साईनका ८ जना पुरुष, बालनविहुल गाउँपालिकाका १ जना महिला र १ जना पुरुष गरी २ जना र सुरुङ्गा नगरपालिकाका १ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

सप्तरी जिल्लामा यस अघि ४ जनामा सङ्क्रमण पुष्टि भइसकेको थियो । जसमा डाक्नेश्वरी नगरपालिकाका ३ र बालनविहुल गाउँपालिकाका १ जना थिए ।

हिजो कोरोना पुष्टि भएका सङ्क्रमित बिरामीहरूलाई सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेसनमा उपचारमा राख्नका लागि सम्बन्धित पालिकाको एम्बुलेन्स मार्फत ल्याइँदै गरेको प्रमुख यादवले बताए ।

थप ११ जना कोरोना सङ्क्रमित क्वारेनटाइनमा बसेका थिए । उनीहरू भारतबाट आएको बताइएको छ ।