धरान : प्रदेश नं १ को बजेट अधिवेशन आज (बुधबार) देखि शुरु हुने भएको छ । आज २ बजेदेखि सुरु हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन भइरहेको प्रदेशसभाको अधिवेशन विगतमा तल्लो तलाको सभा हलमा सञ्चालन भइरहेको थियो । कोरोना भाइरसका कारण र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सोही भवनको माथिल्लो तलामा पनि सदस्यलाई बस्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

अधिवेशन सञ्चालन हुनुअगाडि नै सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीको स्वाब सङ्कलन गरेर परिक्षण भइसकेको सचिव पराजुलीले जानकारी दिए ।