धरान : सप्तरी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमित ११ जना भारतको महाराष्ट्र र मुम्बईबाट आएको खुलेको छ ।

उनीहरूलाई आ आफ्नो स्थानीय निकायले बनाएको क्वारेनटाइनमा बसेका थिए । सप्तरीका विभिन्न स्थानमा क्वारेनटाइनमा बस्ने सबैजसो भारतबाट आएकाहरू रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले बताएका छन् । उनका अनुसार क्वारेनटाइनमा बस्ने २३८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रतिष्ठान पठाएकोमा ११ जनाको करोना पोजेटिभ रिपोर्ट आएको र अरूको रिपोर्ट आउन बाँकी रहेको छ ।

सप्तरी जिल्लामा मात्रै अहिले सम्म १८ सय ७२ बेडको क्वारेनटाइन सञ्चालनमा रहेको र पछिल्लो समय भारतबाट आउने मानिसको सङ्ख्या अत्यधिक वढन थालेपछि स्थानीय निकायहरूले वडा वडामा पनि क्वारेनटाइन बनाउन सुरु गरेको प्रमुख यादबले बताए ।

सप्तरीमा अत्यधिक मानिस भारतबाट आएका र सबैलाई क्वारेनटाइनमा राखिएको छ भने क्वारेनटाइनमा बस्ने अधिकांशलाई पोजेटिभ हुन सक्ने प्रमुख यादबको भनाई छ । त्यसैले सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा रहेको १८ बेडको आइसोलेसनमा १५ जना बिरामी पुगेकोले अव बिरामी राख्नका लागि समेत सप्तरीमा समस्या भएको छ ।

थप बिरामीको सङ्ख्या बढेमा सप्तरीको राजविराज स्थित शाही कृष्ण प्रस्तावित मेडिकल कलेजमा ३ सय बेड क्षमताको आइसोलेसन तयारी भइरहेको प्रमुख यादबले बताएका छन् । केही दिन भित्रमा सञ्चालनमा ल्याउने गरी नेपाली सेनाले तयारी गरिरहेको सो आइसोलेसन कोरोना सङ्क्रमित पहिलो स्टेजकालाई मात्र हुने बताइएको छ । दोस्रो र तेस्रो स्टेजका बिरामीलाई उपचार गर्ने ठाउँ नभएकोले प्रदेश सरकारसँग यसबारेमा पनि माग गरेको उनले बताएका छन् ।