झापा : सरकारले सिमाना निगरानी बढाएको छ । तर, राष्ट्रिय जिम्मेवारी बोकेर सीमामा खटिएका सुरक्षाकर्मीले हावाहुरी र पानीसँग आफ्नै सुरक्षा कसरी गर्लान् ? उनीहरू बस्ने संरचना गतिलो छैन । बाँसको भाटाले अड्याएको पालभित्र बाँसकै खाट छ ।

त्यही बाँसको खाट पनि डोरी लगाएर बनाइएको छ । अलि ठुलो हावाहुरी आयो भने अर्को आपत । गौरीगञ्ज गाउँपालिका २ स्थित लालमाटीमा रहेको सशस्त्र प्रहरीको पोस्टमा पुग्दा यस्तै दृश्य देखिन्थ्यो ।

राज्यले सिमानामा खटिएका सुरक्षाकर्मीलाई टर्च लाइट र गम बुटसमेत दिन नसक्ने अवस्था नै भएको भने देखिँदैन । नेपालले सुरक्षा शीर्षकमा छुट्ट्याएको बजेटको आकारलाई हेर्ने हो भने यसलाई कम आँक्न सकिँदैन पनि ।

सीमा तथा आन्तरिक सुरक्षामा परिचालित चार सुरक्षा संयन्त्रका लागि चालू आर्थिक वर्षमा मात्र सरकारले एक खर्व १० अर्व १३ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसलाई प्रतिशतमा हेर्ने हो भने नेपालको कुल बजेटको १० प्रतिशत हुन आउँछ ।

Border-Security-force-2

कसलाई कति बजेट ?

सुरक्षा संयन्त्रको नाम -नेपाली सेना

चालू आर्थिक वर्षमा विनियोजित बजेट -५० अर्व आठ करोड ४७ लाख रुपैयाँ

सुरक्षा संयन्त्रको नाम -नेपाल प्रहरी

चालू आर्थिक वर्षमा विनियोजित बजेट -३९ अर्व १३ करोड २५ लाख रुपैयाँ

सुरक्षा संयन्त्रको नाम - सशस्त्र प्रहरी

चालू आर्थिक वर्षमा विनियोजित बजेट - १९ अर्व २५ करोड दुई लाख रुपैयाँ

सुरक्षा संयन्त्रको नाम - राष्ट्रिय अनुसन्धान विभाग

चालू आर्थिक वर्षमा विनियोजित बजेट - एक अर्व ६७ करोड २१ लाख रुपैयाँ

सिमाना सुरक्षाकर्मीलाई जनावरको पनि त्रास उस्तै

त्रिपालको भरमा सिमाना २४ घण्टा सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई नाकाको सुरक्षा सँगै जनावरको डर पनि उत्तिकै छ । सर्प, बिच्छी लगायतका जीवको डर उत्तिकै छ । एउटा सामान्य उदाहरणका रूपमा सोमबारको एउटा घटनालाई हेरौँ ।

सोमबार झापाको गौरीगञ्ज गाउँपालिका २ स्थित लालमाटी भन्ने स्थानमा रहेको सशस्त्र प्रहरीको पोस्ट भन्दा करिब १ सय मिटरको दुरीमा एउटा हात्ती आफ्नो सानो बच्चोसहित मकैवारिमा थियो ।

गाउँलेहरू त्यसलाई खेदाउन खोज्दै थिए । गाउँलेहरू रुखमा चढेर हात्ती खेदाउन खोज्दै थिए । सबै गाउँलेको उद्देश्य भनेकै त्यो हात्ती र उसको बच्चोलाई त्याहाबाट लखेट्ने । तर परिस्थिति त्यति सहज बनेन । अन्ततः सो स्थानमा एक जनाले ज्यानै समेत गुमाउनुपर्‍यो ।

सोही हात्तीको आक्रमणबाट एक जनाले सो स्थानमा ज्यान गुमाए । ज्यान गुमाउनेमा भारतीय नागरिक रहेका छन् । भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइँलो मुर्मुको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो । यस्तो त्रासका बिच पनि नेपाली सुरक्षाकर्मीहरु सीमा क्षेत्रमा अभावका बिच खटिरहेकै छन् ।

सिमाना लायन्स क्लबको साथ : निर्माण भए सुरक्षा पोस्ट

नेपाल भारतको सिमानामा लायन्स क्लबले सशस्त्र सीमा सुरक्षा बललाई स्थायी सीमा सुरक्षा पोस्ट निर्माण गरी हस्तान्तरण गरेको छ । हाल विश्वभर कोरोना भाइसको महामारी फैलिरहेको बेला नेपाल भारत सीमा सिल गरिएको छ । खुल्ला सिमानाको कारण मानिसहरू भारतबाट लुकी छिपी नेपाल प्रवेश गरी रहेका छन् ।

यसरी लुकेर प्रवेश गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले यसलाई रोक्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपालको दक्षिणी सीमा क्षेत्रमा खटाएको छ ।

सुरक्षाका लागि सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाए पनि अस्थायी टेन्टका कारण सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाइ बस्न असहज भई रहेको बेला लायन्स क्लब अफ इन्टरन्यासनल डिस्ट्रिक्ट ३२५, एम डी थ्री टु फाइभ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाडौँका गरी १२ वटा क्लब मिलेर सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई स्थायी पोस्ट बनाएर सोमबार गौरीगंज २ लालमाटीमा एक कार्यक्रम बिच सो पोस्ट हस्तान्तरण भयो ।

Border-Security-force-3-

लायन्स क्लबका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्कीको आतिथ्यतामा उक्त पोस्ट त्यस क्षेत्रमा सीमा सुरक्षा लागि खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेललाई हस्तान्तरण गरिएको पोस्ट निमार्ण संयोजक विश्वास कायस्थले बताए । सङ्कटको अवस्थामा सीमा सुरक्षामा खटिएका सुरक्षा कर्मीलाई सीमा सुरक्षाको निम्ति केही हद सम्म सहज होस् भन्ने हेतुले क्लबहरू मिलेर पोस्ट निमार्ण गरिएको बताइएको छ ।

क्लबले नेपाल भारतको सीमा सुरक्षा को लागि माइ पश्चिमबाट हरेक दुई देखि ३ किलोमिटरको दुरीमा करिब चार लाखको लागतमा ७ वटा पोस्ट निमार्ण गरिएको दमकका लायन्स सलडर विमल शर्माले बताए ।

सोही अवसरमा सीमा सुरक्षा पोस्टको अनुगमनका लागि पुगेका प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय विश्वासले लायन्सले गरेको कार्यको प्रशंसा गर्दै लायन्स क्लबको जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारा नारामा मात्र सीमित नभएर काम पनि गरेर देखाएको भन्दै प्रशंशा गरे ।

Border-Security-force-1

border-force-jhapa-4-