धरान : आज १३ औँ गणतन्त्र दिवस । नेपालमा लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको १२ वर्ष पुगेर १३ वर्षमा प्रवेश गरेको विशेष दिन हो । नेपाली राजनीतिक इतिहासमा एक अविस्मरणीय दिनको रूपमा जेठ १५ गतेलाई लिइन्छ ।

जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन हो । वि.सं. २०६५ साल जेठ १५ गते बसेको पहिलो संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो ।

गएका वर्षहरूमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ तीन दिनसम्म मनाउने गर्दथ्यो । तर, यस वर्ष कोरोना भाइरस (कोभिड-१९) को महामारीले देशभर लकडाउन रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित भएको छ । ठुला कार्यक्रम आयोजना गरिएको छैन ।

गृह मन्त्रालयले तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले हिजो बुधवार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा राजनीतिक दलका शीर्ष नेता लगायत अन्यले शुभकामना सन्देश दिने क्रम जारी छ ।