विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्ने सम्पूर्ण नेपालीमा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीको सन्देशमा भनिएको छ, सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १३ वर्ष भएको छ । नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरूप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढिरहेको छ ।

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाई छ ।

गणतन्त्र दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।