धरान : सप्तरी जिल्लामा बिहीबार बिहान थप १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यी थपिएका १२ जना सहित सप्तरीमा सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले दिएको जानकारी अनुसार बिहीबार थपिएका १२ जनाको स्वाबको नमुना केन्द्रीय प्रयोगशालाको प्रयोगशालामा पठाइएको थियो । सङ्क्रमित १२ जनानै सप्तरीको बोदेबर्साईन गाउँपालिकाको चन्द्र नमुना माध्यमिक विद्यालयको क्वारेनटाइनमा बस्ने पुरुषहरू रहेको प्रमुख यादबले बताए ।

केही दिन अघि ४ जना र बुधवार बिहान ११ जना र साँझमा २ जना गरी १७ जना सङ्क्रमित पुगेकोमा बिहीबार बिहान थप १२ जना थपिएपछि सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २९ जना पुगेको छ ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा १५ बेडको आइसोलेसनमा केही बिरामीलाई राखिएको छ भने बेड अभावका कारण बिहीबार नयाँ सङ्क्रमितहरूलाई बोदेवर्साईनको चन्द्र नमुना माध्यमिक विद्यालयकै क्वारेनटाइनमा आइसोलेसन तयार गरेर राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले जानकारी दिए ।

सप्तरीमा अत्यधिक मानिस भारतबाट आएकाहरु क्वारेनटाइनमा राखिएको र आएका मध्ये अधिकाङ्सलाई सङ्क्रमण हुनसक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । जस अनुसार अव यही गतिमा सङ्क्रमित बढ्दै गएमा सप्तरीमा बिरामी राख्न समस्या भएको प्रमुख यादबले बताए ।

राजविराजमै रहेको शाही कृष्ण प्रस्तावित मेडिकल कलेजमा २ सय बेडको आइसोलेसन तीव्र गतिमा तयारी भइरहेको बताइएको छ । त्यतिन्जेल सम्म सङ्क्रमितहरूलाई क्वारेनटाइनमै राख्ने तयारी सुरु भएको छ ।