धरान : पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाहरूमा १ सय ५६ जना कोरोना भाइरसका बिरामी थपिएका छन् । यो सँगै देशभरिको कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिउसो जानकारी अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षण गरिएकोमा सप्तरीका २ जना ३२ र २४ वर्षीय पुरुष, कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जना सबै झापा जिल्लाका रहेका छन् । १६ वर्ष देखि ४२ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जना नवलपुरका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये धनुषाका २९ जना रहेका छन् । उनीहरू मध्ये ४ वर्षीय बालिका, ८ वर्षीय बालक सहित २ जना महिला, २५ जना पुरुष १४ देखि ७० वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै महोत्तरीका १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ४५ वर्षीय महिला सहित १६ जना पुरुष १५ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । त्यसै गरी रौतहटका ३ जना १२ देखि ३० वर्षीय पुरुष रहेका छन् । यसै गरी सप्तरीका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सप्तरीका १८ देखि ४२ वर्षका सबै पुरुष रहेका छन् ।

यसै गरी सर्लाहीका ७ जना १७ देखि ३१ वर्षीय पुरुष, सिराहाका ६ जना १४ देखि ४५ वर्षीय पुरुष, सोलुखुम्बुका १ जना २० वर्षीय पुरुष, बझाङका ५५ वर्षीय १ जना पुरुष रहेका छन् । यसै गरी सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये सुर्खेतका १३ जना मध्ये २ र ५ वर्षीय २ जना बालिका र ११ देखि ३६ वर्षका ७ जना पुरुष, २२ देखि ३९ वर्षका ४ जना महिला र १ जना बोल्न नसक्ने महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसै गरी दैलेखका ८ जना कोरोना सङ्क्रमित मध्ये १ जना २० वर्षीय महिला, १७ देखि ४० वर्षीय ७ जना पुरुष रहेका छन् । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा ३ जना कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये स्याङ्जाका ३९ वर्षीय महिला २२ र २६ वर्षका २ जना पुरुष रहेका छन् ।

यसै गरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये दार्चुलाका १ जना २५ वर्षीय पुरुष, कैलालीका २ जना २५ र ३० वर्षका पुरुष रहेका छन् । हेटौडामा गरिएको परीक्षणमा मकवानपुर हेटौडाका ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू मध्ये बर्दियाका ३ जना पुरुष २९ देखि ३४ वर्ष उमेर समूहका छन् भने नेपागञ्जका १ जना २८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यसै गरी धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । ती सबै सङ्क्रमित रौतहटका रहेको बताइएको छ । ८ वर्षका बालक देखि ४० वर्षका पुरुषहरू रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले सम्म नेपालमा  ९ सय ४० जना पुरुष, १ सय २ जना महिला गरी १ हजार ४२ जना सङ्क्रमितको कुल सङ्ख्या पुगेको छ । जसमध्ये अहिले सम्म ५ जनाको मृत्यु भएको छ भने १ सय ९० जना निको भएर घर फर्किएका छन् ।