धरान : सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना सङ्क्रमितलाई उपचारका लागि राख्ने आइसोलेसनको अभाव भएको छ ।

सप्तरीमा अहिले सम्म १ महिला सहित ३३ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ । सङ्क्रमित मध्ये कडरवना प्रहरी चौकीका असई र बोदेबर्साईनका १ जना प्रहरी हवलदार सहित २ जना प्रहरी र एक जना बोदेवर्साईन नगरपालिकाको स्वास्थ्य महाशाखाका कर्मचारी पनि रहेका छन् ।

सप्तरी जिल्लामा कोरोना सङ्क्रमित भारतबाट आएका बाहेक प्रहरी र कर्मचारी गरी तीन जना स्थानीय रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसरी दिनानुदिन सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई उपचार गर्ने आइसोलेसन अभाव भएको छ । बिहीबार बिहान सङ्क्रमण पुष्टि भएका बोदेवर्साईन नगरपालिकाका ९ जनालाई अस्पतालमा बेड अभावको कारण बोदेवर्साईन नगरपालिकाको चन्द्रा नमुना माविको क्वारेनटाईनमानै राखिएको छ ।

राजविराजमा रहेको गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा १५ बेड क्षमताको आइसोलेसनमा २४ जनालाई राखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले बताएका छन् । राजविराजमै रहेको शाही कृष्णा प्रस्तावित मेडिकल कलेजमा २ सय बेड क्षमताको आइसोलेसन धमाधम तयारी भइरहेको छ । नेपाली सेनाले तयारी गरिरहेको सो स्थानमा आइसोलेसन सञ्चालनमा आएमा सहज हुने प्रमुख यादबको भनाई छ । तर यस्तै अवस्था रही रहने हो भने थप सङ्क्रमितलाई उपचारका लागि राख्न ठुलो समस्या हुने देखिएको छ ।

सप्तरीमा कति जनाको कोरोना परीक्षण भयो त ?
सप्तरी जिल्लामा थ्रोट स्वाबको नमुना १ हजार ८१ जनाको लिइएको छ भने आरडिटी १२ जना भन्दा बढीको गरिएको छ । स्वाबको नमुना लिइएकाहरूको अझै सबै रिपोर्ट आई नसकेको बताइएको छ ।

सप्तरी जिल्लामा ५१ वटा क्वारेनटाइनमा १३ सय ६४ जनालाई राखिएको छ । सप्तरीमा क्वारेनटाइनमा बस्ने सबै जसो भारतमा मजदुरी गर्न गएर घर फर्किएकाहरू रहेका छन् भने क्वारेनटाइनमा ४ जना स्वास्थ्यकर्मीलाई पनि राखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले बताएका छन् ।