धरान : सुनसरीको बराहक्षेत्र ३ स्थित ससुरालीमा बस्दै आएका एक व्यक्तिको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

बराहक्षेत्र ३, बांगेबाट झापाको दमक बसाई सरेका ३७ बर्षीय कमल राईको हिजो राती हत्या भएको थियो । उनको शव आज बिहान स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरण कुमार दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनको पुरानो रिसइबीबाट हत्या भएको खुलेको छ । अनुसन्धान तथा सोधपुछको लागि ७ जना नियन्त्रणमा लिइएको पनि प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।

‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ, अनुसन्धान गरिरहेका छौ' दाहालले भने 'प्रारम्भिक अनुसन्धानमा २ जनाको संलग्नता हो कि भन्ने देखिन्छ’ । हत्यामा परिवारकै २ जना मात्र संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ ।

‘बिहानैदेखि उनीहरुले मदिरा पिएको र साँझ छुटेर गएको छ । तर, पछि २ जनासँग भेट भएपछि पुरानो रिसइबीले लाठीले कुटेर हत्या गरेको हो कि भन्ने प्रारम्भिकरुपमा खुलेको छ,’दाहालले भने,‘अनुसन्धानको विस्तृत विवरण भोली एसपी साबबाट नै जानकारीमा आउछ ।’

मृतक राई दमक बसाई सरेपनि उनको आमा बराहक्षेत्रको बांगेमा नै रहदै आएकी छिन् । यस्तै, ससुराली पनि उनको बराहक्षेत्र ३ मा नै पर्छ । उनी गएको फागुनदेखि ससुराली घरमा नै बस्दै आएका थिए । मृतकले दोस्रो विवाह गरेका थिए ।