धरान : धरान उपमहानगरपालिकाले धरान नगरबासी मध्ये कुल जनसङ्ख्याको २ प्रतिशत नगरवासीको पिसिआर परीक्षण गर्ने तयारी गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागसँगको सहकार्यमा धरान उपमहानगरमा अग्रपंत्तीमा रहेर काम गरेका जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी र अग्रभागमा रहेका धरान नगरबासी गरी धरानको कुल जनसङ्ख्याको २ प्रतिशत (करिब ४ हजार जना) नागरिकको पिसिआर परीक्षण गर्नेबारे धरान उपमहानगरपालिकामा छलफल भइरहेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

यसबारेमा शनिवार बिहान ८ बजे बस्ने कार्यपालिकाको बैठकमा छलफल गरिने र त्यसपछि कहिले देखि कसरी गर्ने भन्ने बारेमा निर्णय हुने मेयर राईले बताए ।

धरान उपमहानगरपालिकामा अहिले सम्म ५० जनाको पिसिआर परीक्षण र २ सय ३ जनाको आरडीटी परीक्षणबाट कोरोनाको परीक्षण गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

उनका अनुसार धरानमा अग्रपंत्तीमा रहेर काम गरीरहेका जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सफाईकर्मी, कर्मचारीसंगै कोरोनाको जोखिममा रहेका सर्वसाधारण गरी २ प्रतिशतमा पिसिआर परीक्षणका लागि तयारी भइरहेको छ ।

यसबारेमा धरान उपमहानगरपालिकाले लगत सङ्कलन गर्ने तयारी गरिरहेको छ भने भिटिएम खरिदको पनि तयारी गरिरहेको प्रमुख मेहेताले जानकारी दिएका छन् ।