धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाबाट पठाईएका २७ जना विरामीलाई अझै आइसोलेसनमा भर्ना गरिएको छैन ।

हिजो शुक्रबार साँझ झापाको कचनकबल गाँउपालिकाबाट बसबाट धरान पठाईएका उनीहरुलाई बेड अभाब भएको भन्दै रातभरी अस्पतालको ढोकामै बसेको संक्रमितहरुले बताएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने यसरी कोरोना संक्रमितलाई अहिले विहान सम्म आईसोलेसनमा भर्ना गर्न नसक्नुको कारण आईसोलेसनमा बेड अभाव भएर भएको र झापाले समवन्य नगरेर यसस्तो भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उनका अनुसार अव केही बेरमै उनीहरुलाई भर्ना गरिने छ । उनीहरु राति आईपुगे ब्यवस्थापन गर्न समस्या भएकोले यसो भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले तयार गरेको कोभिड १९ अस्पतालमा विरामी नराखी अहिले सम्म संक्रमित विरामीहरुलाई पेईङ व्लगको आईसोलेसनमा राख्दै आएको छ ।

३० बेडको पेईङ वार्डमा अहिले सम्म ६७ जना कोरोना संक्रमित विरामी भर्ना भईसकेका छन भने थप २७ जना विरामी आउदा समस्या भएको हो । यसरी कोरोना संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।