धरान : झापाबाट शुक्रवार राति पठाइएका कोरोना सङ्क्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भर्ना नगरेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिवार बिहान धरान आई पुगेका छन् ।

मन्त्री धरान आइपुगेपछि मात्रै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ । अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा अगाडी भर्ना भएका ६७ जना र आज भर्ना भएका २७ जना गरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ९४ पुगेको छ भने २ जना कोरोना आशङ्का गरिएका बिरामी आइसोलेसनमा राखिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रवार झापाको कचनकवल गाउँपालिकाबाट पठाइएका २७ जना कोरोना सङ्क्रमितलाई अस्पतालले भर्ना नगरेपछि रातभर अस्पताल बाहिर गाडीमै बसेका थिए । खाली रहेको बेडमा भर्नाका लागि पठाइएका सङ्क्रमितलाई भर्ना नगरेपछि शनिवार बिहान सामाजिक विकास मन्त्री घिमिरे धरान आई पुगेका हुन ।

‘बेड खाली भएर हामीले पठाएका हौँ ।’ उनले भने ‘ भर्ना नगरिनु अस्पतालको लापरबाहीको पराकाष्ठा हो ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दुई सय बेड तयार गरेको प्रदेश सरकारले बताउँदै आएको थियो ।

बिहीबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका प्रतिनिधिसँग प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छलफल समेत गरेका थिए । छलफलका क्रममा उपकुलपति डा. गिरीले २ सय बेड भएको र त्यसमा ५० बेड खाली रहेको बताएका थिए ।

तर शुक्रवार पठाइएका बिरामी भर्ना नगरेपछि सामाजिक विकास मन्त्री घिमिरे असन्तुष्ट बनेका छन् । ‘ छलफलमा २ सय मध्ये ५० बेड अकुपाई भयो १ सय ५० बाकीँ छ भनिएको छ ।’ घिमिरेले भने ‘ त्यही भएर बिरामी पठाएका थियौँ, भर्ना नगरिनु लापरबाहीको पराकाष्ठा हो ।’

शुक्रवार राति करिब १० बजे अस्पताल पुगेका २७ सङ्क्रमित प्रतिष्ठानको पेईङ ब्लग जहा कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेसनको पार्किङ एरियामा रातभर बसेका थिए । बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले राति बेड तयार नभएको र झापाबाट समन्वय नगरी एक्कासि बिरामी पठाएकोले यस्तो भएको बताए ।

धरान आई पुगेका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान पछि बराहक्षेत्र नगरपालिकाको चतरामा रहेको सिद्दबाबाको आश्रमको भवन निरीक्षणका लागि गएको बताइएको छ । त्यहाँ पनि १ सय ५० बेडको सङ्क्रमित राख्ने आइसोलेसन तयारी गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।