झापा :  शुक्रवार झापामा थपिएका २७ जना सङ्क्रमितलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना नलिएको घटनाप्रति कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा अनुगमन समिति झापाले आपत्ति जनाएको छ ।

समितिका संयोजक सोमनाथ पोर्तेलले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यस विषयमा आफूले प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा कुरा गरिसकेको बताए ।

मन्त्रालयकै समन्वयमा सङ्क्रमितहरूलाई सो अस्पतालमा पठाइएको भए पनि अस्पतालले भर्ना नलिनु दु:खद भएको भन्दै पोर्तेलले आइन्दा यस्तो हर्कत नदोहोर्‍याउन पनि अस्पताललाई सचेत गराएका छन् ।

यस प्रकारको घटनाले आफूलाई साह्रै दुखित तुल्याएको बताउँदै पोर्तेलले झापामै कोरोना विशेष अस्पताल स्थापनाको विषय अन्तिम चरणमा पनि पुगेको जानकारी दिएका छन् ।