धरान :  पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ८९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिएका छन् । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण देखिनेमा पछिल्लो २४ घण्टामा ४ जना महिला र १८५ जना पुरुष नयाँ सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जसमध्ये धनुषाका ७ जना २० देखि २४ वर्षीय पुरुष, झापाका १ जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्षका पुरुष, ललितपुरका १ जना २३ वर्षीय महिला, महोत्तरीका ४ जना २५ देखि ५५ वर्षीय पुरुष, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुष, सर्लाहीका १७ जना १६ देखि ४० वर्षीय पुरुष, सिराहाका ११ जना १७ देखि ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

यसै गरी प्रादेशिक प्रयोगशाला रुपन्देहीमा २९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सबै जना कपिलवस्तु यसोधाराका १५ देखि २५ वर्षीय पुरुष रहेका छन् । यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

सङ्क्रमित सबै जना सप्तरीको १८ देखि २८ वर्षीय पुरुष ८ जना र एक जना महिला रहेका छन् । यसै गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कपिलवस्तु विजयनगरका ३ जना २६ देखि ५२ वर्षीय पुरुष, दाङ हापुरेका १ जना ३० वर्षीय पुरुष, दाङकै बगलाचुलीका ४ जना २८ देखि ३८ वर्षीय ३ जना पुरुष, २८ वर्षीय १ जना महिला रहेका छन् ।

यसै गरी नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । बारा हर्दियाका १ जना २४ वर्षीय पुरुष, पर्सा पसौनीका २ जना १८ र ६० वर्षीय पुरुष रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सबै जना दैलेखका १७ देखि ५० वर्षीय पुरुष रहेका छन् ।

यसै गरी कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरू दुवै जना सङ्खुवासभा जिल्लाका हुन् । सङ्खुवासभाको खादबारीका २३ वर्षीय पुरुष, पाचखपनका २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले सम्म नेपालमा १ हजार २ सय ८८ पुरुष, १ सय १३ जना महिला गरी कुल सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ जना पुगेको छ ।