इटहरी : पछिल्लो समय घरभित्रै हत्या र अपराधका घटनाहरू बढ्न थालेका छन् ।

आफ्नै परिवारका सदस्यबाट असुरक्षित हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ । कोरोना महामारीबाट बच्न घर बस्दा पनि असुरक्षित हुने अवस्था सृजना भइरहेको छ । पछिल्ला केही दिनमा आफ्नै छोराछोरी, श्रीमती र आफन्तबाट हत्या भएका घटनाहरू बाहिर आउन थालेका छन् । यसले पारिवारिक हिंसा किन र के कारणले भइरहेको छ भन्नेबारे सोच्न बाध्य बनाएको छ ।

घटना १,
गत वैशाख २५ गते बिहीबार तेह्रथुमको फेदाप गाउँपालिका ५ इसिबुमा एक युवकले आफ्नै बाबु र सौतेनी आमाको हत्या गरे ।

हत्यापछि आफैले प्रहरीलाई फोन गरेर बाबु आमाको हत्या गरेको जानकारी गराए । १८ वर्षीय कञ्चन लिम्बू प्रहरीसँग आफै आत्मसमर्पण गर्छन् । उनका बाबु रीतबहादुर लिम्बू र सौतेनी आमा रुपनीको शव एकै ठाउँमा फेला पर्छ । कञ्चनकी आमाले दोस्रो विवाह गरेपछि रीतबहादुरले पनि दोस्रो विवाह गरेका थिए । दोस्रो विवाह पश्चात् सौतेनी आमा र बाबु सँग बारम्बार झगडा गर्ने गरेका उनले अन्ततः हत्या नै गर्न पुगे ।

घटना २,
जेठ ३ गते शनिवार विराटनगरका रोहित चौहानले आफ्नै बाबुको हत्या गरी घरैमा पुरिदिए ।

बाबुले चामल किन्ने पैसा मागेको विषयमा झगडा भएपछि फरुवाले हानेर बाबुको हत्या गरेको उनले स्वीकार गरे । हत्यापछि घटना बाहिर नआओस् भनेर भाइ नागेन्द्रसँग मिलेर घरभित्रै खाल्डो खनेर पुरिदिए । पछि नागेन्द्रकी श्रीमतीले ससुराको विषयमा खोजबिन थालेपछि घटना बाहिर आएको हो । हाल दुवै दाजुभाइ ज्यान मुद्दामा थुनामा रहेका छन् ।

घटना ३,
विराटनगरमा औषधीको व्यवसाय गर्दै आएका इटहरीका देवीप्रसाद दुलाललाई उनकै श्रीमती मिना श्रेष्ठले हत्या गरिन् ।

गत जेठ ४ गते मिना र उनका प्रेमी भनिने ब्रह्मदेव शाहले घाँटीमा डोरीले बाँधेर हत्या गरेका हुन् । साँझमा खाना खाएर सुत्ने बेलामा मिनाले ब्रम्हदेबलाई बोलाएर घाँटी थिची हत्या गरिएको प्रहरीले जनाएको छ । त्यसपछि घटनालाई सामान्य बनाउन मिनाले बिहान ३ बजे नै मृतक दुलाललाई कोसी अस्पताल पुर्‍याएकी थिइन ।
प्रेम सम्बन्धमा श्रीमान् बाधक बनेपछि मिनाले प्रेमी सँगको मिलेमतोमा हत्या गरेकी हुन् । ब्रह्मदेव दुलालको औषधी पसलमा काम गर्ने पूर्व कर्मचारी हुन् ।

श्रीमती सँगको अनैतिक सम्बन्ध थाहा पाएपछि दुलालले उनलाई कामबाट निकालिदिएका थिए । सोही विषयलाई लिएर बारम्बार घर झगडा हुने गरेको र पछि झगडाले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना ४,
जेठ ५ गते राती एक युवतीले आफ्नै बाबुको हत्या गरेकी छिन् ।

इलाम दउमाई नगरपालिका ५ शान्तीडाँडाकी शुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । बाबु छोरी बिच विगत लामो समयदेखि पारिवारिक रूपमा विवाद हुँदै आएको थियो । आर्थिक रूपमा विवाद बल्झिरहने हुँदा सोही कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । हत्याको पूर्व योजना नभए पनि आवेशमा आएर हत्या गरेको प्रहरीको बुझाई छ ।

घटना ५,
जेठ १५ गते बिहीबार बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले आफ्नै आमाको हत्या गरी आत्महत्या गरे ।

६१ वर्षीय देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरेसँगै उनले आफूलाई पनि छुरा प्रहार गरेका थिए । आमाको हत्यापछि जीवनले सुरुमा घर नजिकै घाँस काट्दै गरेकी महिलाको हँसिया खोसेर छातीमा रोप्ने काट्ने गरे । पछि फेरी उनले छिमेकीको घर भित्रबाट तरकारी काट्ने छुरा ल्याइ आफ्नो गला रेटेका थिए ।

अघिल्लो दिन मात्र घरमा आगो लगाएको निहुँमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही दिन बिहान वडाध्यक्ष सहितको रोहबरमा छुटेका उनले घर पुग्ने बित्तिकै आमाको हत्या गरेका थिए । लामो समय देखी लागुपर्दाथ दुर्व्यसनीमा रहेका उनले नशा सेवन गर्न नपाएर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटना ६,
सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा आफ्नै सालाले भिनाजुको हत्या गरेका छन् ।

जेठ १६ गते शुक्रवार मृत भेटिएका ३७ वर्षीय कमल राईको उनकै सालो पर्नेबाट हत्या भएको खुलेको हो । उनका सालो पर्ने गणेश लिम्बु र उनको साथी प्रदीप राजधामी मिलेर हत्या गरेको पाइएको छ ।

पाँच महिना अघि सालो गणेशलाई कमलले सामान्य कुटपिट गरेको विषयमा रिसिइबी लिएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरेलु अपराधको कारण बारे गम्भीर अनुसन्धान जरुरी छ : प्रहरी
नेपाल प्रहरीले पछिल्लो समय बढ्दै गएका घरेलु अपराधको बारेमा गम्भीर अनुसन्धान जरुरी रहेको बताएको छ ।

प्रदेश १ प्रहरी प्रवक्ता डिएसपी सुमन कुमार तिम्सिनाका अनुसार एउटै सबै घटनालाई समग्रमा बुझ्न नसकिने बताए । हरेक घटनाको फरक फरक सम्बन्ध भएकोले सबै घटनालाई मिहिन ढङ्गले अनुसन्धान जरुरी रहेको उनले बताए ।

कतिपय मादक पदार्थ सेवन देखी आर्थिक अभाव र अनैतिक सम्बन्धको कारण पनि धेरै हिंसा हुने गरेको उनको भनाई छ । पछिल्लो समय भएका घटनामा ठुलो कारण र पूर्व रिसीबी भन्दा पनि एक्कासि आवेशमा आएर धेरै घटना भएको उनको बुझाई छ ।

मानव शास्त्री प्रोफेसर डाक्टर राम क्षेत्रीले चलायमान हुने मानिसहरू लकडाउनको कारण एकोहोरो भएर पनि यस्ता घटना भएको हुनसक्ने बताउँछन् । धेरै श्रमिकहरू अहिले बाहिर निस्कन पाएका छैनन् र घरमा हुने आर्थिक अभावले आपराधिक मानसिकता विकास गराएको हुनसक्ने उनको तर्क छ । सबै घटनालाई एकै तरिकाले भन्दा पनि घटनाको मिहिन अध्ययन गरेर थप कुरा पत्ता लगाउने सकिने उनले बताए ।