धरान : प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ६० पुगेको छ ।

प्रदेश नं. १ मा सबै भन्दा बढी झापा जिल्लामा शनिवार साँझ सम्ममा १ सय ६ सङ्क्रमितको सङ्ख्या पुगेको छ । यसै गरी उदयपुरमा ३३ जना, धनकुटामा ७ जना, मोरङमा ६ जना, सुनसरीमा ३ जना, सङ्खुवासभामा २ जना, भोजपुरमा १ जना, खोटाङमा १ जना र सोलुखुम्बुमा १ जना गरी प्रदेश १ मा मात्रै ९ जिल्लामा गरी कुल सङ्क्रमित सङ्ख्या १ सय ६० पुगेको छ ।

प्रदेश नं. १ मा कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ३० रहेको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार मात्रै प्रदेश न. १ मा ४ हजार २ सय थान आरडीटि परीक्षण किट पठाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

सप्तरीमा सङ्कलन गरिएको स्वाब कुहिन लाग्यो
सप्तरी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बढ्यै छ । अहिले सम्म सप्तरी जिल्लामा मात्रै पछिल्लो थपिएको ९ जना सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ ।

सङ्क्रमितको सङ्ख्या बढेपछि अहिले बिरामीहरूलाई व्यवस्थापन गर्न ठुलो समस्या भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले सप्तरी जिल्लामा कोरोना परीक्षणका लागि सङ्कलन गरिएको स्वाबको नमुना कुहिन लागेको बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, जनकपुर प्रयोगशाला र केन्द्रीय प्रयोगशालाहरूले परीक्षणका लागि स्वाबको नमुना लिन नमानेको प्रमुख यादवले बताए । यादवका अनुसार २ सय थ्रोट स्वाबको स्याम्पल राखिएको छ ।

सप्तरीमा पछिल्लो थपिएका सङ्क्रमितहरूलाई अस्पतालमा बेड अभावका कारण क्वारेनटाइनमै आइसोलेसन बनाएर राखिएको बताइएको छ ।